काठमाडौँ । दसैँ बिदा आज (सोमबार) देखि सुरु भएको छ । तर, अत्यावश्यक केही क्षेत्रले भने दसैँ बिदामा पनि सेवा सुचारु गर्ने निर्णय गरेका छन् ।
यसरी सेवा सुचारु गर्नेमा नेपाल आयल निगम, नेपाल वायुसेवा निगम, नेपाल विद्युत् प्राधिकरण लगायत सार्वजनिक संस्थादेखि बैंक तथा वित्तीय संस्था समेत रहेका छन् , द्वादशीको दिन (शुक्रबार)सम्म बिदा भए पनि त्यसको भोलिपल्ट शनिबार रहेका कारण यो दशैंमा ६ दिन सार्वजनिक बिदा हुनेछ ।
खासगरी बैंक तथा वित्तीय संस्थाले सीमित शाखाहरूमा आलोपालो सेवा दिने गरी व्यवस्था मिलाएका छन् । यसमध्ये केही बैंकले तुलनात्मक रूपमा धेरै शाखा खोलेर सेवा दिने कार्यतालिका बनाएका छन् भने केही बैंकको भने यस्तो तालिका प्रकाशन गरेका छैनन् । शाखा खुला हुने काउन्टरहरूमा रकम जम्मा गर्ने र निकाल्ने सुविधा मात्रै हुनेछ । केही बैंकले भने जम्मा गर्ने र निकाल्ने सीमा समेत तोकेका छन् ।
कृषि विकास बैंक लिमिटेडले दशैं बिदामा ३६ वटा शाखा कार्यालयहरू खुला राख्ने तालिका बनाएको छ। यी शाखाहरू कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशभर फैलिएका छन्, जहाँ विभिन्न मितिहरूमा सीमित बैंकिङ सेवाहरू उपलब्ध हुनेछन्।
सिटिजन्स बैंकले दशैं अवधिभर २६ वटा शाखा कार्यालयहरू सञ्चालन गर्नेछ। यी शाखाहरू काठमाडौं उपत्यका र बाहिरका प्रमुख शहरहरूमा अवस्थित छन्। ग्राहकहरूले असोज १३ देखि १८ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म नगद कारोबार लगायतका अत्यावश्यक बैंकिङ सेवा लिन सक्नेछन्।